‘सानो संसार’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
यो शुक्रबार, असोज ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सानो संसार’ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । बुधबार आयोजना गरिएको प्रिमियर शोमा उपस्थित कलाकर्मीले मुक्तकंण्ठले प्रशंसा गरेका हुन् ।
‘सानो संसार’ले ठुलो संसारलाई सोच्न बाध्य बनाएको छ । तपाई हाम्रै घरका कथा, बास्तविक अभिनय सीता भाउजु र नीरूजी बाहेकका सबै कलाकारहरू नयाँ तर काम पुरानाको भन्दा राम्रो । सानो सन्सारले रूवायो पनि हँसायो पनि । वास्तविक अर्गानिक चलचित्र यसलाई चाहीं भन्नुपर्छ । यसका लेखक निर्देशकलाई सलाम गर्न चाहन्छु, ज्वाईं साब अभिनेता जितु नेपालले मिडिया र आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
यस्तै चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, निर्देशक रामबाबु गुरुङ, ज्ञानेन्द्र देउजा, सुरेन्द्र पौडेल, नवल नेपाल, निर्माता रौनक विक्रम कंडेल, रोहित अधिकारी, सरोज न्यौपाने, अभिनेता जितु नेपाल, विल्सन विक्रम राई, यमन श्रेष्ठ, लेखक प्रदीप भारद्धाज, अभिनेत्री लुनिभा तुलाधर लगायतले प्रिमियरमा फिल्म हेरेर प्रशंसा गरेका छन् ।
पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा हाँस्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ । फिल्ममा सीतासँगै राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ ।
सिद्धार्थ पुँडासैनीले फिल्म ‘सानो संसार’लाई निर्देशन गरेका हुन् । यही फिल्मबाट उनले लेखन तथा निर्देशनमा डेव्यु गरेका हुन् । उनलाई फिल्मको कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छन् । प्रवीन खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादन रहेको सिनेमाको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट हो ।
राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । अर्जुन कसमार निर्माता रहेको फिल्मका कार्यकारी निर्माता माधव वाग्ले हुन् । राजधानी मिडिया र प्रिन्सेस मूभिजले फिल्मलाई संयुक्त रुपमा प्रदर्शन गर्नेछन् ।