दयाहाङ राईले सके ’अञ्जिला’ को स्वराङ्कन
अभिनेता दयाहाङ राईले फिल्म ‘अञ्जिला’को स्वराङ्कन (डबिङ) सकेका छन् । व्यस्तताबिच अभिनेता राईले फिल्मको डबिङ कार्य सम्पन्न गरेका हुन् । फिल्म फागुन २९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
फिल्म ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ । निर्देशक चाम्सका अनुसार फिल्मको सबैजसो कार्य पूरा भएको छ । फिल्मको प्रमुख भूमिकामा एञ्जिला तुम्बापो सुब्बा स्वयम् प्रस्तुत छिन् । साथमा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । निर्माता प्रेम कुमार श्रेष्ठले पनि फिल्ममा प्रमुख भूमिका निभाएका छन् ।
फिल्मको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको हो । फिल्ममा एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा देखाइनेछ । निर्देशक चाम्सका अनुसार यस चलचित्रले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको छ । उनका अनुसार यो चलचित्र एञ्जिलाको पूणर् बायोपिक भने होइन, तर उनको जीवनका विभिन्न घटनाहरूमाथि आधारित भने छ ।
फिल्ममा सुदीप बरालको छायाँकन र मिलन श्रेष्ठको सम्पादन छ । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेम श्रेष्ठले निर्माण गरेको यो चलचित्रमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता छन् ।