‘रिमै’ छायाँकन गर्न नेपाल आइन् रिश्मा ‘मैंया’
‘कबड्डी’ शृखंलाकी मैंया अर्थात् रिश्मा गुरुङ नयाँ फिल्म रिमैको छायांकनको लागि नेपाल आएकी छन् । रिश्मा आइतबार नेपाल ल्यान्ड भएकी हुन् । उनी श्रीमानसँग अमेरिकामा बस्दछिन् ।
रिश्मा रिमैको कथावस्तुले मन छोएकाले काम गर्न तयार भएर नेपाल आएको बताउँछिन् । ‘म लामो समय पश्चात सिनेमाको पर्दामा फर्किदै छु । लामो त होइन मैले बिचमा क्रसरोड नामक फिल्ममा काम गरेकी थिए । त्यो सिनेमा अहिलेसम्म पनि प्रदर्शनमा आएको छैन् । त्यसैले गर्दा लामो ग्याप जस्तो देखियो’, उनले भनिन्, ‘विशेषगरी रिमै गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले पनि काम गर्न तयार भएकी हुँ । अनि सिनेमाको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल भएकाले पनि काम गर्न उत्साहित छु ।
खिल बहादुर गुरुङको निर्देशनमा निर्माण हुने फिल्मलाई बिर बहादुर घलेले निर्माण गर्दैछन् । फिल्मको असोज २८ गतेबाट गोरखाको सिरानचोकबाट छायांकन सुरु गरिने निर्देशक गुरुङले बताए । फिल्ममा रिश्मासँगै दयाहाङ राई, सौगात मल्ल, कविता आले र माओत्से गुरुङको मुख्य भूमिका रहनेछ ।
‘जारी’ र ‘मनसरा’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमाको दशैंको घटस्थापनाको दिन औपचारिक रुपमा मुहूर्त गर्दै निर्माणको सुरुवात गरिनेछ ।