‘पूर्ण बहादुरको सारङ्गी’पछि निर्देशक पौडेलको ‘कोशेढुंगा’
‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक पौडेलले नयाँ फिल्म ‘कोशेढुंगा’ निर्देशनको घोषणा गरेका छन् । निर्देशक पौडेल निर्देशित फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले व्यापारिक किर्तिमानी कायम गर्यो ।
निर्देशक पौडेलले आफूले निर्देशन गर्ने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका छन् । थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमीमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएछिन् । माथि डाँडामा उभिएकी उनको अगाडि अग्लो रुख र पहाडी शैलीको घर छ । परपर क्षितिज छ ।
“फिल्म कस्तो हुने, कथा के हो, कलाकार को–को हुने त्यो हामी केही समयपछि जानकारी गराउनेछौँ,” निर्देशक पौडेलले भने, “तर हामी यति भन्छौँ, पूर्ण बहादुरको सारङ्गी जसरी दर्शकले मन पराउनुभयो त्यसैगरी मन जित्ने सिनेमा बनाउने प्रयासमा छौँ ।” यो पोस्टरले ‘कोसेढुंगा’ सोसल ड्रामा भएको प्रष्ट हुन्छ । अभाव, अग्लो सपना र संघर्षको कथा चलचित्रले भन्ने संकेत गरेको छ । यसबारे निर्माणपक्षले भने केही बोलेको छैन ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र हरि महतको लगानी रहने छ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् । बाबु श्रेष्ठको डीओपी रहने फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । फिल्ममा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ ।
‘कोसेढुंगा’ फिल्म २०८२ मा रिलिज गर्ने निर्माण पक्षको योजना छ । सरोज पौडेल निर्देशित फिल्म पूर्ण बहादुरको सारङ्गीले नेपाली फिल्म हलहरुमा ७५ दिन पुरा गर्दैछ ।