काकुको ‘परान’ मा मदनकृष्ण, पूजा चन्ददेखि केकीसम्म
‘परान’ घोषणा गर्दै गोल्छा समूह र प्रिज्मा ग्रुप सिनेमा निर्माणमा, बाइस्कोप सिनेमाको ब्यानरमा सिनेमा बनाउने
प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूहका शेखर गोल्छा तथा ‘प्रिज्मा एड्भटाइजिङ’ प्रमुख रन्जीत आचार्यको संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा सिनेमा निर्माणको औपचारिक घोषणा गरेको छ। बुधबार काठमाडौंमा प्रेसमिट गर्दै कम्पनीले ‘परान’ सिनेमाको औपचारिक घोषणा गरेको हो।
फिल्मलाई चर्चित हास्य टेलिशृंखला ‘सक्किगोनी’का चर्चित ‘काकु’ पात्र निर्वाह गरेका दीपक आचार्यले निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशन हो। सिनेमामा नीर शाह केन्द्रीय भूमिकामा देखिने छन्। शाहका अलावा फिल्ममा मदन कृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रविण खतिवडा, बुद्धि तामाङ, महेश त्रिपाठी, अञ्जना बराइली, पूजा चन्द, सुभाष गजुरेल, यमन श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहनेछ । यस्तै फिल्ममा बालकलाकारका रूपमा निर्देशक आचार्यका कान्छा छोरा आर्यदीप आचार्य समेतको अभिनय रहनेछ । फाल्गुनको पहिलो साताबाट सिनेमा फ्लोरमा जानेछ । फिल्मको छायांकन काठमाडौं तथा धनकुटामा हुनेछ।
फिल्म घोषणा कार्यक्रममा बोल्दै शेखर गोल्छाले उद्योग वाणिज्य महासंघको अध्यक्षका हैसियतमा जिल्ला–जिल्लामा हुने महोत्सवहरूमा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रममा नेपालीपन नदेख्दा त्यस्ता कार्यक्रममा जानु नपरे हुन्थ्यो जस्तो लाग्ने गरेको र सोही प्रकारको सन्देश आयोजकहरूलाई दिने गरेको प्रसंग सुनाउँदै सिनेमा निर्माण गर्नु पछाडि नेपालीपन र संस्कृतिको समृद्धिका लागि रहेको बताए।
त्यसैगरी, रन्जीत आचार्यले सन् २०१७ मै सिनेमामा आउने योजनासहित कम्पनी खडा गरे पनि तयारीका दौरान नै कोभिड महामारीका कारण काम सुरु गर्न नसकिएको बताउँदै, उपरान्त नेपालीपन बोकेको र नेपाली दर्शकका लागि सिनेमा बनाउने बताए। ‘हामीले फिल्म निर्माण गर्ने भनेर २०१७ मै कम्पनी खडा गरेका थियौँ तर २०२४ मा प्रोजेक्ट अघि बढेको छ। अब निरन्तर नेपालीपन बोकेको फिल्म बनाउने छौँ । साथै अन्तर्राष्ट्रिय फिल्म निर्माण कम्पनीहरूलाई नेपालमा सहकार्य गर्न र लगानी गर्न लगाउने योजना रहेको, नेपाल मै अन्तर्राष्ट्रिय सिनेमा निर्माण गर्न सहकार्यगर्ने योजना रहेको,’ आचार्यले भने।
कार्यक्रममा महानायक राजेश हमाल, वरिष्ठ हास्य अभिनेता हरिबंश आचार्य, कलाकार दीपाश्री निरौला, निशा अधिकारी, दिनेश डिसी, अशोक शर्मा, कृष्ण मल्लको साथमा उद्योगपति पशुपति मुरारका, सौरभ ज्योति, विदुषी राणा, भास्कर राज राजकर्णिकार, सांसद असीम शाह, क्यूएफऐक्स का निर्देशक द्वय नकीम उद्दीन र भास्कर ढुंगाना लगायत व्यवसायीहरूको उपस्थिति थियो।
बाइस्कोप सिनेमा प्रस्तुति भन्दै बन्न लागेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन गर्नेछन् भने तथा सुप्रिम पराजुलीको रंग संयोजन रहनेछ ।