रत्न र योगेशलाई कृपा संगीत रत्न सम्मान
’सम्वृद्धिको लागि संगीत’ भन्ने नाराका साथ स्थापना भएको कृपा फाउन्डेसनले आफ्नो पहिलो वार्षिकोत्सवको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘कृपा संगीत रत्न सम्मान’ द्वारा वरिष्ठ रचनाकार तथा साहित्यकार रत्न शमशेर थापा र वरिष्ठ गायक योगेश बैधलाई सम्मान गरेको छ ।
फाउन्डेसन अध्यक्ष शिव कुमार लामिछाने, कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक प्रेमध्वज प्रधान, फाउन्डेसन संरक्षक बराह ज्वेलरी प्रमुख बिष्णु माया लामिछाने , बराह ज्वेलरी धरान प्रमुख मान बहादुर बिकले संयुक्त रुपमा दोसल्ला ओढाउदै प्रमाण पत्रद्वारा सम्मान गर्नु भएको थियो । सोहि अवसरमा पछिल्लो समय किड्नीमा समस्या आएपछि उपचार गराईरहेका वरिष्ठ गायक ओम बिक्रम बिष्ट ज्युलाई फाउन्डेसनको तर्फबात नगद र ५१ हजार प्रदान गरिएको थियो । गायक विष्ट अमेरिकामा रहनु भएकोले उहाको सम्मान तथा नगद सहयोग उहाको छोरा शिखर विक्रम विष्टले ग्रहण गर्नु भयोको थियो । गायक विष्टले भिडियो मार्फत उपस्थितलाइ सम्बोधन गर्दै कृपा फाउन्डेसनलाई धन्यवाद दिनु भएको थियो ।
सम्मानित सर्जकलाई सम्मान सहित समर्पित गर्दै गायक शिव लामिछानेले केहि गीत प्रस्तुत गरेका थिए । उनले रत्न शमशेर थापाद्वारा रचना गरिएको तथा स्वरसम्राट नारायण गोपालद्वारा संगीत तथा स्वर दिइएको गीत स्वर्गकी रानी , शिव अधिकारी लिखित तथा वरिष्ठ संगीतकार नातिकाजीद्वारा संगीत तथा योगेश बैधद्वारा स्वर दिइएको गीत सपना भुलाई सारा र एल्वर्ट सुब्बा लिखित , रोबर्ट सुब्बाद्वारा संगीतमा वरिष्ठ गायक ओम बिक्रम विष्टद्वारा स्वर दिइएको गीत म मौनतामा लाइभ प्रस्तुत गरेका थिए ।
साथै कृपा फाउन्डेसनको पहिलो वार्षिक उत्सव र गायक ओम बिक्रम विष्टज्युको जन्मोत्सव केक पनि काटिएको थियो । केक काट्दै कृपा फाउन्डेसनको निरन्तरता तथा गायक विष्टको दिर्घायुको कामना गरिएको थियो ।