‘म यस्तो गीत गाउँछु’ को बम्पर ओपनिङ : वितरक
फिल्म ‘म यस्तो गीत गाउँछु’ ले प्रदर्शनको पहिलो दिन शुक्रबार दर्शकको उत्साहप्रद साथ पाएको छ । राजधानी र मोफसलमा फिल्मले हाउसफूलको व्यापार गरेको वितरक गोपाल कायस्थले बताएका छन् । दर्शकको चाप बढेपछि राजधानीका गोपिकृष्ण र अष्टनारायण हलमा हल संख्या थपिएको कायस्थले बताए ।
चावाहिलको गोपिकृष्ण हलमा हिन्दी फिल्म ‘जग्गा जासुस’ लाई हटाएर ‘क’ वर्गको गोपी हलमा ‘म यस्तो गीत गाउँछु’ लाई लगाइएको छ । ‘नयाँ वर्ष र चाड पर्व बिना पनि ‘म यस्तो गीत गाउँछु’ले बम्परको व्यापार गरेको छ । निकै समय पछि कुनै पनि नेपाली फिल्मले शुक्रबार यस्तो व्यापार गरेको हो’, वितरक कायस्थले भने । उसो त नेपाली नयाँ वर्षपछि नेपाली फिल्म हलमा दर्शकको खडेरी लागेको थियो । ‘लामो समयपछि नेपाली फिल्ममा दर्शक आएका छन्’, राजधानीका हलवाला भन्छन्, ‘हलमा बल्ल बहार’ आएको छ । यो रमाइलो भिडियो हेर्नुस् :
यता पहिलो दिनमै हलमा दर्शकको चाप उच्च भएपछि निर्देशक तथा निर्माता सुदर्शन थापा दंग छन् । ‘दर्शक आउनु भएकोमा खुसी त छु नै । हलसम्म आएर पनि फिल्म मन पराइदिनु भयो यसको लागि उहाँहरुप्रति कृतज्ञ छु ।’ फिल्मका मुख्य दुई पात्र पल शाह र पूजा शर्माले सम्पूर्ण दर्शकलाई धन्यवाद दिए । संजय लामाको छायाँकन रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ । म यस्तो गीत गाउँछु देशका करिब ५५ हलहरुमा लागिरहेको छ ।