साम्राज्ञीले १६ घण्टा सुटिङ गरेपछि…
शुक्रबार दरबारमार्गस्थित क्युजि सिनेमा हलमा आयोजना गरिएको फिल्म ‘ए मेरो हजुर २’ को प्रेसमिटमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह झण्डै दुई घण्टा ढिला गरी आइन् । साम्राज्ञीलाई पर्खन कार्यक्रम नै लम्बाउनु परेको थियो । ३ बजे बोलाइएको कार्यक्रममा साम्राज्ञी करिब पाँच बजेतिर मात्रै पुगिन् । साम्राज्ञीले किन यति समय लगाइन् त ?
कार्यक्रम हलमा प्रवेश गर्ने वित्तिकै साम्राज्ञीले ‘सरी भनिन्’ र ढिलो हुनुको कारण पनि खुलाइन् । ‘हिजो १६ घण्टा सुटिङ गरेको त्यही भएर एकदम गाह्रो भैरहेको छ’, साम्राज्ञीले भनिन्, ‘फेरी एम्बेसी पनि जानु थियो । त्यही भएर ढिला भयो ।’ फिल्म ‘इन्टुमिन्टु लण्डनमा’ को छायाँकनमा व्यस्त रहेकी साम्राज्ञी सोही फिल्मको छायाँकनको लागि लण्डन जाँदैछिन् ।
साम्राज्ञी र सलिनमान बनियाँको मुख्य भूमिका रहेको फिल्म ‘ए मेरो हजुर २’ भदौ १६ गतेदेखि प्रदर्शनमा आउँदैछ । झरना थापाको डेव्यु निर्देशन रहेको फिल्मलाई निर्माता सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्ममा सलोन बस्नेत, अनुभव रेग्मी, अनुरागमान सिंह कुँवर लगायत कलाकारहरुको पनि अभिनय छ । ट्रेलर रिलिज भएसँगै ‘ए मेरो हजुर २’ थप प्रतिक्षित बनिरहेको छ ।