सञ्चारकर्मीसँग सिपोराको जित, मैत्रिपुर्ण भलिवल खेल
भदौ २ गते प्रदर्शनमा आउने फिल्म ‘भुईंमान्छे’ र चलचित्र पत्रकारको मैत्रीपूर्ण भलिवल खेल भएको छ । जाउलाखेलस्थित राष्ट्रिय भलिवल प्रशिक्षण कोर्टमा आयोजना भएको खेलमा ‘भुइँमान्छे’ टिमले पत्रकारको टिमलाई ३-१ को सेटमा हरायो ।
बेस्ट अफ फाइभमा खेलाइएको पहिलो सेट २५- १० ले ‘भुइँमान्छे’ टिमको पक्षमा पर्यो । त्यस्तै पहिलो सेटमा राम्रो खेल्न नसकेकोे पत्रकारको टिमले दोस्रो सेटमा सुधारिएको खेल खेल्दा खेल्दै पनि २५ -२० ले पुनः पछाडी पर्यो । तर, तेस्रो सेटमा सिने पत्रकारले राम्रो प्रस्तुति दिदै पुनरागमन गर्न सफल भयो । तेस्रो सेट २५-१६ ले आफ्नो पोल्टामा पारेको सिने पत्रकार चौथों सेटमा हार्दै नतिजा सुम्पिन बाध्य भयो ।
निकै प्रतिस्धात्मक चौथों सेट ‘भुइँमान्छे’ टिमले २५-२३ ले जित्यो । भलिवल राष्ट्रिय टोलि कप्तान विनिता बुढाथोकीसंगै स्पाइकरहरु सरस्वति चौधरी , नेबिका चौधरीसंगै सिपोराले ‘भुइँमान्छे’ युनिटको कप्तानी सम्हालेकी थिइन् । साथै यो टिमबाट अभिनेता रमेश बुढाथोकी पनि मैदानमा उत्रदा खेल रोमान्चक बनेको थियो । त्यस्तै पत्रकार टिमको कप्तानी चलचित्र पत्रकार संघका संगठन उपाध्यक्ष दिनेश सिटौला सम्हालेका थिए । सुशील पौडेल, दीपसन लुइँटेल, समीर बलामी, उद्दव रसाईली, आकाश खड्का, सिपी जैसी, सन्तोषकुमार थापा लगायतका पत्रकारहरु मैदानमा उत्रिएका थिए ।
फिल्म ‘भुइँमान्छे’ मा सिपोरा गुरुङ, रमेश बुढाथोकी, सहिन प्रजापति, रामबाबु रेग्मी लगायतका कलाकारको अभिनय छ । लास चिर्ने मान्छेको मनोबिज्ञानमा आधारित फिल्मलाई नवराज बुढाथोकीले निर्देशन गरेका हुन् ।