अक्षयको नागरिकतासँगै राष्ट्रिय अवार्ड पनि विवादमा
एजेन्सी– बलिउड अभिनेता अक्षय कुमारको नागरिकतालाई लिएर विवाद भइरहेको छ । केहि समय अगाडि भारतमा लोकसेभा चुनाव भएको थियो । जसमा अक्षय कुमार सहभागी भएनन् ।
त्यसपछि उनको नागरिकतालाई लिएर प्रश्न उठेको थियो । त्यसपछि उनले आफै क्यानडाको नागरिकता भएको जानकारी सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए । नागरिकताको विवाद सेलाउन नपाउँदै उनले जितेको राष्ट्रिय अवार्ड विवादमा मुछिएको छ । अक्षय कुमारले २०१६ मा ‘रुस्तम’ फिल्मबाट उत्कृष्ट अभिनेता नेशनल अवार्ड जितेका थिए ।
अक्षयको राष्ट्रिय अवार्डलाई लिएर बलिउडका फिल्मकर्मीले प्रश्न उठाएका छन् । यसको जवाफ जुरी मेम्बरको तर्फबाट निर्देशक राहुल ढोलकियाले दिएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘विदेशी मुलुकको मान्छेलाई पनि नेशनल अवार्ड दिइन्छ । अक्षय कुमारको नागरिकताको विवाद जे भए पनि नेशनल अवार्ड उनीसँगै हुन्छ । यो अवार्ड खोसिदैन् ।’