‘पैसा कमाउनको लागि अर्को फिल्म गर्नुपर्छ’: शाहिद
एजेन्सी– बलिउड अभिनेता शाहिद कपूर स्टारर फिल्म ‘कबिर सिंह’ सुपरहिट भइसकेको छ । यो फिल्म शाहिदको करियरकै ठूलो हिट फिल्म साबित भयो । यो फिल्मले शाहिद करियरमा नयाँ मोड ल्याएको छ । कबिर सिंहको सफलतापछि शाहिदले पारिश्रमिक बढाएर ३५–४० करोड रुपैयाँ पुर्याएको चर्चा चलिरहेको छ ।
शाहिदले तेलुगु हिट फिल्म ‘जर्सी’ साइन गर्नको लागि ४० करोड माग गरेको चर्चा छ । पारिश्रमिकको विषयलाई लिएर हालै शाहिदले भारतिय मिडियासँग कुराकानी गरेका छन् । उनले भने, ‘मैले जति पारिश्रमिक पाए पनि फिल्म साइन गर्नुपर्छ । मसँग कबिर सिंह भन्दा पहिला जति बैंक ब्यालेन्स थियो, अहिले पनि त्यति नै छ । यो फिल्मबाट भुषण कुमार र मुराद खेतानीले मात्र पैसा कमाएका छन् । मैले पैसाको लागि अर्को फिल्म साइन गर्नुपर्छ ।’
शाहिदले फिल्मको आलोचना हुँदा आफुलाई केहि बोल्न नपरेको बताउँदै भने, ‘यो फिल्मको बारेमा नकारात्मक प्रतिक्रिया आउँदा मैंले फिल्मको डिफेन्ड गर्नु परेन । जसले फिल्म हेरे उनीहरुले नै मेरो तर्फबाट फिल्मको पक्षमा बोलेका छन् ।’