उदित नारायण झालाई ज्यान मार्ने धम्की
एजेन्सी– गायक उदित नारायण झालाई पछिल्लो एक महिनादेखि ज्यान मार्ने धम्की आएको खबर सार्वजनिक भएको छ । उनले दुई हप्ताअगाडी पुलिसलाई उजुरी समेत दिइसकेको भारतिय मिडियामा उल्लेख छ ।
उनले पछिल्लो एक महिनादेखि कोही व्यक्तिले फोनमा हानी नोक्सानी पुर्याउने धम्की दिएको भन्दै उजुरी दिएका हुन् । साथै उनले फोन गर्ने व्यक्तिले पैसाको कुनै माग नगरेको बताएका छन् । यो उजुरी दर्ता भएपछि धम्की दिने व्यक्तिको खोजी भइरहेको छ । प्रहरीको अनुसन्धान अनुसार फोन आएको नम्बरको लोकेशन बिहारमा देखाएको छ । उदितलाई चोरी गरिएको मोबाइलबाट धम्की दिइँदैछ ।
उदित नारायण मुम्बईको अँधेरी वेस्टमा बस्छन् । दुई हप्ताअघि उदित नारायणले अंबोली पुलिस स्टेशनमा यसबारे उजुरी दर्ता गरेका थिए । अम्बोली पुलिस स्टेशनका सिनियर इन्सपेक्टरले उजुरी दर्ता भएको बताउँदै भने, ‘उदित नारायणले उनलाई कोही व्यक्तिले फोन गरेर धम्की र गाली गरिरहेको बताएका छन । हामीले उदित नारायणको घर वरिपरि सुरक्षाकर्मी खटाएका छौं । पुलिसले साधारण पोशाकमा उदितको घर वरिपरि आउने मानिसहरुमाथि निगरानी राखिरहेको छ ।’
पुलिसका अनुसार पछिल्लो एक महिनामा उदितलाई एउटै नम्बरबाट तीन पटक फोन गरेर धम्की दिएका छन् । पहिलो फोन एक महिना अघि आएको थियो । दोस्रो फोन १७ जुलाई र तेस्रो २३ जुलाईमा आएको थियो । पुलिस अधिकारीको अनुसार जो व्यक्ति उदितलाई धम्की दिइरहेका थिए उनको नाम लक्ष्मण हो । फोन गर्ने व्यक्तिले आफूलाई उदित कहिले घरबाट निस्कने, कहाँ जान्छन् सबै जानकारी भएको र उनलाई ज्यान मार्ने धम्की दिइरहेको थिए ।