क्यान्सर उपचारबीच ‘शमशेरा’को सेटमा फर्किए सञ्जय
एजेन्सी– बलिउड अभिनेता सञ्जय दत्त फोक्सोको क्यान्सरको बिमारीसँग लड्दैछन् । आफ्नो बिमारीपछि उनी हालै ‘शमशेरा’को छायांकनमा फर्किएका छन् ।
भारतीय मिडिया अनुसार, उनको कीमोथेरापी पुरा भइसकेको छ । बाँकी उपचार सुरु हुनु भन्दा अगाडी उनी ‘शमशेरा’को सुटिङ सक्ने योजनामा छन् । यसैबीच शमशेराको सेटबाट सञ्जयको तस्बिर पनि सार्वजनिक भएको छ । कोरोनाभाइरस संक्रमण र सञ्जयको रोगका कारण सेटमा सुरक्षाको कडा प्रबन्ध मिलाइएको बताइएको छ ।
स्रोतका अनुसार शमशेराको सेटमा सञ्जुका लागि विशेष प्रबन्धको व्यवस्था गरिएको थियो । सेटमा अत्यधिक कम मानिसहरुको उपस्थिती थियो । जति पनि उपस्थित थिए उनीहरुको पहिले नै कोरोना परीक्षण गरिएको थियो र सबैको नतिजा नेगेटिभ आएको थियो । सबैले निकै सावधानीका साथ सुटिङ गरेको पनि बताइएको छ ।
८ अगस्टमा सञ्जय दत्तलाई सास फेर्न समस्या भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । यतिबेला उनकी श्रीमती मान्यता दुई सन्तानसहित दुबईमा थिइन् । ४ दिनपछि उनी अस्पतालबाट डिस्चार्ज त भए तर ११ अगस्टमा उनलाई फोक्सोमा क्यान्सर भएको खबर आयो । हाल डा. जलिल पारकरले मुम्बईमै उनको उपचार गरिरहेका छन् ।