विपिन पश्चात् ‘कर्मा’मा उपासना र मुकुन अनुबन्धित
फिल्म ‘कर्मा’ मा अभिनेता विपिन कार्की पश्चात् अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता मुकुन भुषाल पनि अनुबन्धित भएका छन् ।
फिल्म ‘कर्मा’मा उपसना अभिनेता विपिन कार्कीको जोडीको रुपमा देखिने छिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिने अनुमान छ । विपिन र उपासनाले पहिलो पटक फिल्ममा सहकार्य गर्न लागेका हुन् । ऐतिहासिक रुपमा सफल भैरहेको फिल्म ‘पुणर् बहादुरको सारङ्गी’मा मुकुनले गरेको अभिनयको पनि प्रशंसा भैरहेको छ । फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्दैछन् ।
निर्देशक चौधरीका अनुसार यो फिल्ममा अभिनेता विपीनलाई पहिलो पटक एक्सन अवतारमा भूमिकामा देख्न पाइनेछ । विपिनले ‘कर्मा’का लागि ८ केजी तौल समेत बढाएका छन् ।
मंसिरको दोस्रो सातापछि छायांकनमा जान लागेको ‘कर्मा’लाई नयाँ वर्षको छेको पारेर आगामी चैत्रको २९ गते रिलिज गर्ने टार्गेट राखेर काम अगाडि बढाइएको निर्देशक चौधरीले बताए । यो फिल्मको छायांकन दाङ र रुकुममा गरिनेछ ।
यो चलचित्रको छायाकंन अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भइसकेको छ । चलचित्रको इन्टरनेशनल राइट्स ‘सेभेन सिज इन्टरटेन्मेन्ट’ले खरिद गरेको हो ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालले लगानी रहनेछ । चलचित्रमा विपिन, उपासना र मुकुनका अलवा अन्य कलाकारहरू छनोटको चरणमा छ ।