‘राधे’को सुटिङमा फर्किए सलमान
एजेन्सी– बलिउड अभिनेता सलमान खानले सामाजिक सञ्जाल मार्फत ‘राधे द मोस्ट वान्टेड भाई’को सुटिङमा फर्किएको जानकारी दिएका छन् ।
सलमानले आइतबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा फिल्म सेटको तस्बिर शेयर गर्दै लेखेका छन्, ‘साढे ६ महिनापछि सुटिङमा फर्किएको छु ।’ यो फिल्म अर्को वर्ष मे २२ तारिखमा रिलिज हुनेछ । फिल्ममा सलमान खानसँगै अभिनेत्री दिशा पाटनीको अभिनय हुनेछ । दिशाले फिल्म ‘भारत’ मा उनीसँग काम गरिसकेकी छिन् । फिल्मको दुईवटा गीतको सुटिङ र लगभग पाँच दिनको काम अझै बाँकी भएको बताइएको छ ।
प्रभु देवाले निर्देशन गरिरहेको फिल्मको छायांकन एनडी स्टूडियोमा भईरहेको छ । कोरोना कहरको कारण फिल्म युनिटलाई बाहिर आउने जाने गर्न नपर्ने गरी मुम्बईमा एक होटल बुक गरिएको छ । सुटिङको दौरान फिल्म युनिटलाई बाहिरी मान्छेसँग भेट्ने अनुमति दिइएको छैन ।