व्यवसायी गौतमसँग विवाह गर्दै काजल
एजेन्सी– दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री काजल अग्रवालले विवाह गर्ने भएकी छिन् । काजलले आफ्नो इन्स्टाग्राम मार्फत व्यवसायी गौतम किचलूसँग विवाह गर्ने घोषणा गरेकी हुन् ।
काजलले लेखेकी छन्, ‘यो कुरा बताउन पाउँदा एकदमै खुशी लागि रहेको छ । गौतम किचलूसँग २०२० अक्टोबर ३० मा सानो पारिवारिक समारोहमा मुम्बईमा विवाह गर्दैछु । हामी साथमा आफ्नो जिन्दगी सुरु गर्न उत्साहित छौं । तपाईहरु हाम्रो खुशीमा खुशी भईरहनु भएको होला । यस अद्भुत सुरुवातको लागि तपाईहरुको आशीर्वाद चाहिन्छ । मलाई जे कुराले आनन्द मिल्छ त्यो सबै गर्छु । मान्छेलाई मनोरन्जन गर्ने उद्देश्य परिवर्तन हुनेछ । तपाईहरुको अन्तरहीन साथको लागि धन्यवाद ।’
काजल र गौतमको इन्गेजमेन्ट भइसकेको छ । उनले २००४ मा ‘क्यों हो गया ना’ बाट बलिउडमा आफ्नो करियर सुरु गरेकी थिइन् । विवेक ओबेराय र ऐश्वर्या राय स्टारर फिल्ममा उनले ऐश्वर्याको बहिनीको भुमिका निभाएकी थिइन् । उनले ‘सिंघम, स्पेशल २६, दो लफ्जोकी कहानी, मुम्बई सागा’ लगायत बलिउड फिल्ममा काम गरेकी छिन् ।