रेखा र धमेन्द्रको स्वरमा ‘सइँको घर काँ हो काँ’ पुनः रेकर्ड
स्व.सरोज गोपाल वज्रचार्य, गायक तथा संकलक बुद्धि परियार र गायिका बाबा राणाले चार दशकअधि सइँको घर काँ हो काँ रेकर्ड गराएका थिए । पुनः रेकर्ड गराइएको गीतको भिडियो र अडियो सार्वजनिक भएको हो । भिडियो :
बुद्धि परियारका छोरा धर्मेन्द्र सेवानसँग रेखा शाहलाई युगल गाउने सर्तमा पुनः रेकर्डिङको अनुमति दिइएको केही समयपछि सरोजगोपालको असामयिक निधन भएको थियो । ‘मेरी बैनी र छोरासरहका रेखा शाह र धर्मेन्द्र बाबुले यो गीत पुनः रेकर्ड गरी बजारमा ल्याउँदा म भावुक मात्रै बनिनँ, ४० वर्षअघिको समयमा समेत पुगें’, गायिका बाबा राणाले भनिन्। गीत सार्वजनिक गर्दै गायिका रेखा शाहले भनिन्, ‘सानै उमेरदेखि मैंले निकै गुनगुनाउने गीत हो यो । सौभाग्यबस मैंले मेरै आवाजमा रेकर्ड गर्न पाएँ । अब यो गीत अर्को पुस्तामा पुस्तान्तरण हुनेमा म ढुक्क छु । सरोजगोपाल भिनाजु र बाबा दिज्यूको आशीर्वाद पक्कै रहनेछ ।’
बुवा र अंकलको गीतलाई आफ्नो आवाजमा पुनः रेकर्ड गर्न पाएकोमा गायक धर्मेन्द्र सेवानले अर्को एउटा गीतको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण भएको बताए । उनले भने, ‘बुवाका गीतहरू क्रमशः यसरी नै पुनः रेकर्ड गरि बजारमा ल्याउनेछु ।’ नयाँ रेकर्ड गरिएको गीतमा गोपाल रसाइलीको संगीत संयोजन र भानुभक्त ढकालको रेकर्डिङ ।
स्टुडियो भर्सनमा सार्वजनिक भएको भिडियोमा रेखा शाह र धर्मेन्द्र सेवानले गायक, गायिकाको रूपमा अभिनय गरेका छन् । भिडियोलाई रूपेश थापले निर्देशन गरेका हुन् ।