आउँदो दशैंमा सन्तोष सेनको ‘बलिदान’ आउने
आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्म ’बलिदान’को ’थिम लुक’ सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मको प्रदर्शन मिती पनि उल्लेख छ ।
’थिम लुक’मा सार्वजनिक सामग्री अनुसार ’बलिदान’को कथामा राज्यका अधिकार प्रयोग गर्न सक्ने वर्ग र राज्यबाट किनारा पारिएका वर्गका बिच हुने अधिकारका द्वन्द्व तथा राजनीतिक, सामाजिक द्वन्द्व, विभिन्न आन्दोलनहरूका उत्पत्ति, कारण र परिणामलाई चित्रण हुनेछ । निर्माता सन्तोष सेनले निर्देशन गर्ने फिलमलाई आउँदो दशैंको फूलपातीमा प्रदर्शन गर्ने पोस्टरमा उल्लेख छ । आसुसेन प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरी लगायत रहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने यस फिल्मको ’स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित रहेका छन् ।
फिल्मका निर्माता तथा निर्देशक सेनले यो फिल्मलाई एक सार्वभौम महाकथा भनेका छन् । “नेपालको पछिल्लो राजनीति तथा मधेसमा भएका आन्दोलनका मुद्दामा आधारित छ कि छैन भन्ने सन्दर्भमा शान्तिपूणर् आन्दोलन गर्दा आफ्नो स्वार्थको दाल दल्ने देशी विदेशी कुटिलहरू प्रवेश गरी उत्पन्न हुने बीभत्स परिवेशलाई चित्रण गर्ने हुनाले यसको कथा नेपालको मधेसको त हो नै, साथै जहाँ पनि र जहिले पनि यस्ता मुद्दा चलिरहने हुँदा एक सार्वभौमिक महाकथा हो“ सेनले बताए ।
तिहार लगत्तै बलिदानकोे छायाङ्कन हुनेछ । पछिल्लो पटक सेनले निर्माण, निर्देशन र अभिनय गरेको फिल्म ‘प्रेम गीत ३’ प्रदर्शनमा आएको थियो ।