निश्चल बस्नेतले दिए साइबर ब्युरोमा उजुरी
प्रदर्शनरत फिल्म ‘बेहुली फ्रम मेघौली’को महत्वपूणर् दृश्य खिचेर सामाजिक संजालमा हाल्नेलाई कार्वाही गर्न माग गर्दै फिल्म निर्माता तथा अभिनेता निश्चल बस्नेतले आफ्नो फिल्म भन्दै सोमबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।
आफ्नो फिल्मलाई क्षति पुगकोले त्यस्ता सामाजिक संजालका एकाउन्ट ब्लक गर्न र दोषीलाई कार्वाहीको माग गर्दै बस्नेतले निवेदन दिएको साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिएका छन् ।
निवेदन दिन बस्नेत सोमबार बिहान ब्युरोमा पुगेका थिए । फिल्म बौद्धिक सम्पत्ति भएको र जतिपनि युट्युव र टिकटक एकाउन्टबाट दृश्य अपलोड भएका छन्, ती एकाउन्ट ब्लक गर्न र पाइरेसी गर्नेलाई कार्वाही गर्न भन्दै आफूले निवेदन दिएको समेत निश्चलले बताए ।
‘हाम्रो फिल्मलाई मार पर्यो, भएको पाइरेसीविरुद्धको कानून कार्यान्वयन गरिदिनुपर्यो भनेको हुँ’ निश्चलले भने, ‘उहाँहरुले यसतर्फ सघाउने वचन दिनुभएको छ ।’ फिल्मका महत्वपूणर् अंश पाइरेसी गर्ने एकाउन्टको निगरानी गर्न समेत आफूहरुले आग्रह गरेको निश्चलले बताए । ‘उहाँहरुले पाइरेसीमा स्थानीय कानून आकर्षित हुने र यसलाई अपराध मानिने बताउनुभयो’ उनले भने, ‘हामीले देखेको र उहाँहरुले देखेको पाइरेसीविरुद्ध कडाइ गर्ने कुरा पनि भयो ।’
यसरी पाइरेसी गर्दा धेरै कुरामा असर गरेको र दशैंमा आउने फिल्मलाई पनि मुस्किल पर्न सक्ने निश्चलको भनाई छ । ‘कानूनीरुपमै ट्याकल गर्नुपर्ने देखियो । विज्ञप्ति जारी गरेर मात्र हुँदैन । कार्वाही नै गर्नुपर्ने भयो’ उनले भने ।
चलचित्र विकास बोर्डले पनि विज्ञप्ति जारी गर्दै फिल्मको पाइरेसी नगर्न भनेको थियो । बोर्डले चलचित्र संघलाई यसमा कडिकडाउ गर्न भन्दै निर्देशनसहितको पत्र पनि काटिसकेको छ । स्वस्तिमा खड्का स्टारर फिल्म बेहुली फ्रम मेघौलीले दर्शकलाई हलमा आकर्षण गरिरहेको छ ।