‘पूर्ण बहादुरको सारङ्गी’ चल्दा ‘मिसिङः केटी हराएको सूचना’ स्थगित
यही कात्तिक ३० गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन तत्कालका लागि स्थगित भएको छ । फिल्म निर्माण कम्पनी ट्राई सिटीले शुक्रबार साँझ एक विज्ञप्ती जारी गर्दै अर्को नयाँ प्रदर्शन मिति सार्वजनिक नभएसम्म रिलिज स्थगित गरेको जनाएको छ ।
“हामीले निर्माण गरेको चलिचित्र मिसिङ : केटी हराएको सूचनाको सम्पूर्ण कार्य सम्पन्न भएर सेन्सर जाँच पास भइ यही कात्तिक ३० गते प्रदर्शन मिती तय गरिएको थियो । तर जुन प्रकारले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले दर्शकको साथ पाएको छ यो अवस्थामा नयाँ चलचित्र आउँदा चलचित्र घरहरुले नयाँ चलचित्रलाई समेत शो बाँडफाँड गर्नु पर्ने अवस्थाको सृजना हुने हुँदा दर्शकको साथ प्राप्त चलचित्र समेतलाई असर पार्ने सम्भावना रहने भएकोले इतिहास कायम गर्ने बाटोमा रहेको चलचित्रलाई सहज बनाइदिनु हाम्रो दायित्व हो भन्ने मान्यता कायम राख्दै ट्राइसिटीद्वारा निर्मित यही कात्तिक ३० गते प्रदर्शन हुने चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को प्रदर्शन हाललाई स्थगित गरिएको जानकारी गराउन चाहन्छौं । साथै नयाँ प्रदर्शन मिती तय गरी सार्वजनिक गर्नैछौं”, जारी विज्ञप्तीमा उल्लेख छ ।
दीपेन्द्र गौचन निर्देशित फिल्ममा नाजिर हुसेन र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ । दीपेन्द्रले ३२ वर्षअघि डकु-ड्रामा ‘उजेली’ निर्देशन गरेका थिए । अर्को लोकप्रिय डकुड्रामा ‘हाम्रो मुमिन’ पनि दीपेन्द्रकै निर्देशकीय सिर्जना हो ।