साम्राज्ञीलाई सकस !
नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित दुई फिल्महरु रिलिजको लागि तयार भएका छन् । साम्राज्ञी सोलो हिरोइनको रुपमा प्रस्तुत भएका फिल्महरु ‘ए मेरो हजुर २’ र ‘तिमी सँग’ को रिलिज मिति तोकिएको छ । टिजर रिलिज गर्दै ‘तिमी सँग’ को रिलिज मिति तोक्दा साम्राज्ञीलाई भने सकस पर्न आएको छ । कसरी भयो त साम्राज्ञीलाई सकस ?
फिल्म ‘ए मेरो हजुर २’ को भदौ १६ गतेलाई प्रदर्शन मिति तोक्दै प्रचार प्रसार समेत सुरु गरिसक्दा गत साता मात्रै फिल्म ‘तिमी सँग’ को रिलिज मिति सार्वजनिक गरिएको हो । ‘ए मेरो हजुर २’ रिलिज हुने एक साता अगाडी मात्रै ‘तिमी सँग’ आउनु पक्कै पनि राम्रो होइन । एक एक साताको अन्तरालमा फिल्म रिलिज गर्नु निर्माताको आ-आफ्नै बाध्यता होला । तर एक साताको अन्तरालमा एकै कलाकारले अभिनय गरेको फिल्म प्रदर्शनमा आउनु चाहिं फाइदाजन होइन ।
दुवै फिल्महरुले राम्रो व्यापार गरे त राम्रो होला । तर दर्शक दोधारमा परेर फिल्म तलमाथि भएको खण्डमा साम्राज्ञीको करिअरलाई पक्कै असर पर्नेछ । साम्राज्ञी जस्ती सम्भावना नायिकाको फिल्म एक साताको अन्तरालमा रिलिज हुनु चाहिं महाभूल भएको फिल्म नगरीमा चर्चा छ । के यो महाभूललाई दुवै फिल्मका निर्माता तथा वितरकले मनन गर्लान् ?