‘छक्का पञ्जा ३’ की हिरोइन कुन ?, दोधारमा दिपक-दिपा
‘छक्का पञ्जा ३’ को छायाँकन बैशाख १७ गतेदेखि सुरु गरिने भएको छ । आउँदो दशैंको, फूलपातीलाई रिलिज मिति तय गरिएको फिल्मको स्क्रिप्ट लक भैसकेको छ । फिल्मका मुख्य मुख्य कलाकार पनि तय भैसकेका छन् । तर हिरोइन भने छानिएको छैन ।
सुपरहिट ‘छक्का पञ्जा’ को तेश्रो श्रृंखलामा हिरोइन छान्न दिपक र दिपा दोधारमा परेका देखिन्छ । आफु सहित केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङगको नाम दिएका दिपकले हिरोइनको ठाउँ भने खाली राखे । किन त ? ‘हामी फाइनल गर्दैछौं’, दिपकको भनाई छ । ‘छक्का पञ्जा ३’ मा टिमकै हिरोइन दोहोरिन्छन् या नयाँ ? ‘यसै भन्न सकिन्न । जोपनि हुन सक्छ’, दिपाश्री थप्छिन्, ‘हिरोइनको पावरफूल रोल छ । यसकारण पनि हामीले हतार नगरेका हौं ।’
तर बुझिए अनुसार दिपक र दिपा ‘छक्का पञ्जा ३’ मा चल्तीकी, नयाँ हिरोइन या सौन्दर्य प्रतियोगिताको विनरलाई राख्ने सोचमा छन् । यही यी सबै नभए ‘छक्का पञ्जा’ सिरिजमा नायिका प्रियंका कार्की नै तेहेरिने श्रोत बताउँछ ।