परिचय परिवर्तन गर्दै राजु गिरी, अब ‘देश परदेश’ बनाउने
राजु गिरीको परिचय अश्लिल संवाद र छाडा दृश्य राखेर फिल्म बनाउने निर्देशकको छ । दर्शकको गाली र फिल्मकर्मीको सुझावपछि भने निर्देशक गिरी सुध्रिएका छन् । छाडा फिल्म बनाउने निर्देशकको परिचय परिवर्तन गर्दै निर्देशक गिरीले ‘देश परदेश’ नामक फिल्म बनाउने भएका छन् ।
बुधबार गरिएको प्रेसमिटमा निर्देशक गिरीले यो नयाँ फिल्म परिवारले हेर्न मिल्ने फिल्म बन्ने दाबी गरे । राजु गिरी प्रोडक्शन र सोनी फिल्मस्को संयुक्त प्रस्तुतीमा बन्न लागेको फिल्म देश परदेशमा प्रेम सोनी, सारिका केसी, सुरविर पण्डित, पल्पसा डंगोल, रश्मी भट्ट, शेरबहादुर गुरुङ, गोपाल कुइंकेल लगायतका कलाकारको अभिनय रहनेछ । प्रेम सोनीको कथा, अर्जुन पोखरेलको संगीत, रामेश्वर हुँमागाइंको छायांकन, रोशन श्रेष्ठको एक्सन रहनेछ । भोजराज देवकोटाको पटकथा तथा संवाद रहेको चलचित्रको छायांकन असार २२ गतेबाट सुरु हुनेछ । ‘देश परदेश’ नामक फिल्म एक दशक अगाडी निर्माण भैसकेको छ ।